अध्यक्षको भनाइ

मगनलाल श्रेष्ठ अध्यक्ष

कास्की जिल्लाभर कार्यक्षेत्र बनाई विगत लामो समयदेखि आफ्नै भवनबाट वित्तीय सेवा प्रदान गरिरहेको यस मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा म र मेरो कार्यसमितीको टिमलाई चार वर्षका लागि (२०७८ देखि २०८२ सम्म) निर्विरोध निर्वाचित गरी कार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईंहरूले दिनुभएको यो जिम्मेवारीलाई आत्मसात् गर्दै “हाम्रो सहकारी राम्रो सहकारी” भन्ने नाराअनुरूप सहकारीको नीति–नियम तथा परिधिभित्र रही शेयर सदस्यहरूको वृहत्तर हितका लागि सदस्यहरुले जम्मा गर्नुभएको निक्षेपको सही सदुपयोग गर्दै सहुलियत दरमा ऋण प्रवाह गर्नको लागि हामी अगाडि बढिरहेका छौं । अहिलेको वित्तीय प्रतिस्पर्धापूर्ण बजार र हाल विश्वमै फैलिएको कोभिड–१९ को महामारीका कारण अधिकांश क्षेत्रमा पर्न गएको प्रभावलाई मध्यनजर गर्दै कुशलताका साथ सहकारीलाई नेतृत्व प्रदान गरिरहेको जानकारी गराउन चाहन्छु । सोहीअनुरूप यस सहकारी संस्थाले सहज तथा छिटो छरितो रूपमा आधुनिक वित्तीय सेवा दिँदै अगाडि बढिरहेको हुँदा शेयर सदस्यज्यूहरूलेसम्पूर्ण वित्तीय कारोबार मुनाल सहकारीमा नै गर्नुहुनेछ भन्ने मैले आशा गरेको छु ।

अहिलेको वित्तीय अवस्थालाई सर्सर्ती अध्ययन गर्दा मुनाल सहकारीलाई बढीभन्दा बढी डिजिटल प्रविधिमा लानुपर्ने आवश्यकता रहेको छ । जसअन्तर्गत एस.एम.एस. बैंकिङ सेवा सुरु भई नै सकेको छ । सो सेवाको सम्पूर्ण शेयर सदस्यज्यूहरुले उपभोग गर्दैै आउनुभएको छ र यो सेवा निकै प्रभावकारी पनि भएको छ । यो वर्ष मुनाल सहकारीले मोबाइल बैंकिङ सेवा पनि आफ्ना शेयर सदस्यमाझ पस्किसकेको छ, विस्तारै यसको प्रयोग बढिरहेको छ । त्यस्तै यही वर्ष वित्तीय कारोबारमा सहज बनाउनको लागि नयाँ सफ्टवेयर पनि सञ्चालनमा आइसकेको छ । त्यस्तै अन्य डिजिटल सेवामा सहकारी संस्थाको पहुँच बढाउँदै जाने हाम्रो उद्देश्य रहेको छ र यो अपरिहार्य पनि भइसकेको छ । वित्तीय क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरु भित्रिने क्रम जारी छ र हाम्रो सहकारी संस्थाले आफ्नो उद्देश्य पूर्तिको लागि कुन प्रविधिसम्मको प्रयोग गर्न सक्ने हो, हामी ती–ती प्रविधिको प्रयोग गर्दै जानेछौं ।

समयानुसार परिवर्तित सहकारीका नियमहरूको अनुसरण गर्दै हाम्रा आदरणीय शेयर सदस्यज्यूहरूलाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै जाने प्रण गर्दै यहाँहरूको सक्रिय सहभागिता र सहकार्यबाट भविष्यमा मुनाल सहकारीलाई उत्कृष्ट सहकारीको रूपमा स्थापित गराउन सकिनेछ भन्ने मैले विश्वास लिएको छु ।

सहकारी क्षेत्रका विभिन्न चुनौती र अवसरहरूबीच यस सहकारी संस्थालाई स्थापित गराउन प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण शेयर सदस्य, नियमन निकाय, सहकारी विभाग, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, सञ्चालक समितिका साथीहरू, सल्लाहकारज्यूहरू, विभिन्न उपसमितिका साथीहरू र कर्मचारीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

धन्यवाद ! जय मुनाल सहकारी !

मगनलाल श्रेष्ठ
अध्यक्ष