मुनाल सहकारीको रिट्रिट कार्यक्रम

पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लि. ले रिट्रिट कार्यक्रमको आयोजना गरेको छ । संस्थाले प्रत्येक वर्ष आयोजना गर्दै आएको अध्ययन अवलोकन भ्रमणको कार्यक्रमको निरन्तरता स्वरूप सो कार्यक्रमको आयोजना गरेको हो ।
चैत १८ देखि १९ गतेसम्म २ दिनसम्म आयोजित रिट्रिट कार्यक्रममा प्रशिक्षकको रूपमा संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईंले आफ्नो जीवनी तथा मिडिया र सहकारीबीचको सम्बन्धको बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै संस्थाका सल्लाहकार तथा पूर्वअध्यक्ष मेघनाथ काफ्लेले सहकारीको इतिहास, वर्तमान अवस्था र भविष्यमा सहकारीले अवलम्बन गर्नुपर्ने नीतिको बारेमा प्रशिक्षित गराउनुभएको थियो ।
सहकारीका सल्लाहकार रामजी बाँस्तोलाले ‘हामीले नदेखेको पोखरा’ विषयमा सहभागीहरूलाई पोखराको बारेमा जानकारी सहित प्रशिक्षित गराउनुभएको थियो । त्यस्तै निक्षेप संकलन उपसमितिका संयोजक भुपेन्द्र गिरीले प्रेरणादायी मन्तव्य प्रस्तुत गरी प्रशिक्षित गराउनुभएको थियो । संस्थाका उपाध्यक्ष डा. विष्णुप्रसाद चापागाईंले स्वास्थ्य सम्बन्धी सचेतना गराउनुभएको थियो ।
संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले सहकारीको वर्तमान अवस्था, संस्थाको प्रगति विवरणका साथमा सम्पूर्ण शेयर सदस्यहरूलाई मुनालमा नै कारोबार गरिदिनुहुन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाको वर्तमान कार्यसमिति, निवर्तमान अध्यक्ष, सल्लाहकारहरू, विभिन्न समिति तथा उपसमितिका संयोजक तथा सदस्यहरू र कर्मचारी परिवारको सक्रिय सहभागिता रहेको थियो ।
कार्यसमिति सदस्य सन्तोष घिमिरेको संयोजकत्वमा सञ्चालन भएको रिट्रिट कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले गर्नुभएको थियो ।